शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको दाबी गरेका छन ।

आज (शुक्रवार) निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विश्वविद्यालयमाथि सरकारबाटै आक्रमण भएको बताएका छन ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, विडम्बना १ अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ’, प्रचण्डले आफ्नो मन्तव्यमा भनेका छन्, ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ ।’

प्रचण्डले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु ।

म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । उनले भ्रष्टाचार र बेथितिका विरुद्ध नयाँ शिराबाट सङ्घर्षको झन्डा उठ्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us