काठमाण्डु, १४ मंसिर– मकवमनपुरमा अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन ।
आज बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको उनले जानकारी दिएका छन ।
उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले जानकारी दिएका छन ।
अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले जानकारी दिएका छन ।