काठमाण्डु, १३ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट काठमाण्डु ल्याउने क्रममा कार्यकर्ताले विमानस्थलमा नाराबाजी गरेका छन् ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरको जहाजमार्फत काठमाण्डु ल्याइएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनका विषयमा बयान लिन उनलाई काठमाण्डु ल्याइएको हो ।
कडा सुरक्षा व्यवस्थाबीच उनका कार्यकर्ता र समर्थकले विमानस्थलबाहिर नाराबाजी गरेका थिए ।
उनीहरुले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’, राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाए ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न रहेको कसुरमा अनुसन्धान गर्न उनर्लाइ गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
यसअघि उनलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा बयान लिन पोखराबाटै भैरहवा लगिएको थियो ।