महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाण्डु बोलाएर गृहमन्त्री लेखकले स्पष्टीकरण सोधेका हुन् ।

कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको थियो ।

अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप समेत छ ।

गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो, ‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us