आमा–छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रहरीले रौतहटको दुर्गा भगवती गाउँपालिकामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजनालाई घटनाको ४ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती–४ छतौना बस्ने वर्ष ४८ का महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन ।

दुर्गाभगवती गाउँपालिका पिपरा बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता रायले जानकारी दिए ।

दुर्गाभगवती ४ बस्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा वर्ष २ को रेहानको ०७७ वैशाख ११ गते राति ८ बजे हत्या गरी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फाली फरार भएका थिए ।

उक्त स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको कङ्काल फेला परेको थियो । घटनामा संलग्नलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us