संविधान संशोधन सडकको छलफलको विषय होइन: गगन थापा

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन ।

आज (बुधबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस–एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने पनि बताएका छन ।

महामन्त्री थापाले दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने पनि बताएका छन । उनले भने, ‘हामीले आ–आफ्नो दलभित्र गृहकार्यहरु गर्यौं ।

अब दुइवटा दलको बीचमा मिलेसम्मको साझा धारणा बनाउँछौं । त्यसपछि अन्य दलहरुसँग छलफल प्रारम्भ गर्छौं, यसलाई सडकको छलफलको विषय बनाउनुभन्दा पहिला संविधान निर्माण गर्ने बेलामा सँगै रहेका दलहरू माओवादी, मधेश केन्द्रित दललगायत सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा पहिले छलफल गरौं ।

एउटा समझदारी बनाऊ ।’उनले संविधान संशोधनको विषयलाई पक्षविपक्षभन्दा पनि संविधानको कार्यान्वयनको अनुभवबाट सिकेका कुराहरु, जसले संविधानलाई अझै कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक हुन मद्दत पुर्याउँछ त्यसकै आधारमा प्रवेश गर्नुपर्ने बताएका छन ।

आजै साँझ कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता कार्यान्वयनका गठित संयन्त्रको बैठक बस्ने महामन्त्री थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us