उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– काठमाण्डु उपत्यकाको तापक्रम निरन्तर घट्दो क्रममा छ ।

बुधबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान गरेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us