कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते २१:४२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर- सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।

पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११औं पूर्ण सत्रमा सहभागी हुन उनी  कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख घिमिरे थाई एयरको जहाजबाट मंगलबार साँझ स्वदेश फर्किएका हुन् । 

सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्द्धन गर्न सफल भएको दाबी गरे ।

‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ घिमिरेले भने, ‘नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्‍याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ।’

कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने बताए ।

उनले युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले सुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us