काठमाण्डु, ११ मंसिर– नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
हिजो सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको हो ।
उनले भने, ‘बक्यौता उठाउने कुरमा सम्झौता हुँदैन । स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’
जाँचबुझ समितिको रिपोर्ट आएपछि पैसा बढी आएको भए समायोजन गर्न पनि निर्देशन दिइएको उनले जानकारी दिएका छन ।
आयोगले यथास्थितिमा भन्दै घुमाउरो भाषामा प्राधिकरणलाई तत्काल लाइन नकाट्न भनेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय भोलि सकिँदैछ ।