काठमाण्डु, ११ मंसिर– प्रहरीले कैलालीको धनगढीमा २ जना युवकलाई अपहरण गरी बन्धक बनाइ कुटपिट गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
युवकलाई अपहरण गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ घर भई अध्ययनका लागि धनगढी उपमहानगरपालिका बस्दै आएका १८ वर्षीय अमित नेगी, डडेल्धुराका १८ वर्षीय विशाल भट्ट र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय भुपी खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार उनीहरूलाई अपहरण गरी बन्धक बनाएर लागूपदार्थ खुवाउँदै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको डीएसपी बोहराले जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपित तीन जनाले धनगढी उपमहानगरपालिका–४ तारानगर कोठा गरी बस्ने बझाङ केदारस्यु गाउँपालिका ६ का १७ वर्षीय योगेश धामी र बझाङ मष्टा गाउँपालिका ६ का १७ वर्षीय अशोक खड्कालाई तिनीहरुकै कोठाबाट अपहरण गरी धनगढी तारानगरस्थित बाझो घरमा बन्धक बनाएका थिए ।
प्रहरीले आरोपितहरुलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ थालिएको र निजहरुको मोबाइल समेत चेकजाँच गर्दा कुटपिट गरेको भिडियो भेटिएको आधारमा तीनै जनालाई आवश्यक कारबाही लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।