रवि लामिछानेलाई काठमाण्डु ल्याइने

काठमाण्डु टुडे २०८१ मंसिर १० गते २०:४२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मंगलबार काठमाण्डु ल्याइने भएको छ ।

काठमाण्डुको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाण्डु ल्याउन लागिएको हो ।

लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा लामिछाने गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन पोखरा लगिएको थियो ।

लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार पाचौंपटक म्याद थप गरेको छ । लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहामार्फत पोखराबाट काठमाण्डु ल्याउने तयारी छ ।

काठमाण्डुमा बयान लिएपछि उनलाई फेरि पोखरा लैजाने तयारी छ । यसअघि लामिछानेलाई सहकारी ठगीमै बयान लिन बुटवल लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us