काठमाण्डु, १० मंसिर– मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले एमाले कोशी प्रदेशका सांसद अधिकारी सोमबार साँझ रिहा भएको जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले अधिकारी संलग्न प्रकरणमा ११ जनालाई मुद्धा चलाए पनि उनलाई उन्मुक्ति दिएको थियो ।
११ कात्तिकमा टोकियोमा हुने एक कार्यक्रमा सहभागी हुने भन्दै जापान उडेका अधिकारीले मानव तस्कर समूहको साँठगाँठमा असम्बन्धित व्यक्तिहरुलाई मन्त्रालयको नक्कली कर्मचारी बनाएर आफूसँगै लगेका थिए ।
अधिकारीसँगै खोटाङका ४१ वर्षीय जनक राई र ३७ वर्षीय दावा शेर्पा तथा रसुवाका २१ वर्षीय कञ्चन देवकोटा मन्त्री अधिकारीसँगै गएका थिए । उनीहरु चारै जनालाई टोकियोस्थित नारिता विमानस्थलको अध्यागमन कार्यालयले नेपाल फिर्ता पठाएको थियो ।
नेपाल फर्किएपछि तीन जना विमानस्थलबाटै पक्राउ परे पनि मन्त्री अधिकारी भने आफू मन्त्री भएको भन्दै उम्किए । सामाजिक सञ्जाल र सार्वजनिक मिडियामा चर्को आलोचना भएपछि एमालेले मन्त्रीबाट राजीनामा गरायो ।
तर, पक्राउ भने गरिएन । मानव तस्करीमा मुछिएका मन्त्रीलाई सरकारले जोगाएकामा चर्को विरोध भएपछि उनलाई २६ कात्तिकमा विराटनगरस्थित निवासबाट पक्राउ गरी काठमाण्डु ल्याइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले अधिकारीलाई प्रतिवादी बनाउनु नपर्ने भन्दै उन्मुक्ति दिने निर्णय गरेसँगै उनी रिहा भएका हुन् ।