अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १८:१२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ ।

संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ । ०७९ वैशाख ३० मा भएको स्थानीय चुनावको विश्लेषणको आधारमा ५४ वटा मतदानस्थललाई अति संवेदनशील, ४७ मतदानस्थललाई संवेदनशील र ६२ वटालाई सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको छ ।

सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ ।

डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाडमा उपप्रमुखको निर्वाचन हुँदैछ । मतदान स्थलमा केन्द्र थप भएमा ५ जना प्रहरी थप परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

कीर्तिपुर नगरपालिकामा मेयर, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ । निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । सुरक्षा घेराको पहिलो तहमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेना रहन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाको लागि आवश्यकता अनुसार सेना परिचालन गर्न सरकारलाई अनुमति दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us