प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन: माधव नेपाल

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १६:०४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने बताएका छन ।

आज सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने पनि बताएका छन । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने बताएका छन ।

नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘बीआरआई स्वाभाविक रूपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन रु बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन ।

दक्षिणका देशहरू साउथ साउथ कोअपरेशन भित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौँ ।

लाभ लिने गरेका छौँ । झन् बीआरआईमा हामी आबद्ध उहिले नै भइसकेका छौँ विभिन्न सरकारहरू । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यकता छ । बीआरआईसँग हामी डराएका छैनौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us