चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १४:४४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन ।

आज (सोमबार) पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन ।

चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए ।

छलफलमा ओलीले, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’

उनले चीन भ्रमणका एजेण्डाको विषयमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फिजाइएको बताए । चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको भन्दै उनले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण हुन लागेको बताएका छन ।

प्रधानमन्त्री ओलीले पहिले जुन देशको भ्रमण गरे पनि सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us