अर्बौंको चलखेल भएको भनिएको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते ९:५० मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– धितोपत्र बोर्ड (सेजन) को अध्यक्षमा यसअघि अनुपस्थित हुँदै आएका तीन उम्मेदवार आइतबार अन्तर्वार्तामा उपस्थित भएका छन् ।

कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं  बोर्ड अध्यक्षको अन्तर्वार्तामा सहभागी भएका हुन् । सिफारिस समितिले उनीहरुले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वाताका लागि बोलाएको हो ।

१९ आवेदकमध्ये ५ जना छानिएकामा तीन जना अन्तर्वार्ता र व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणमा सहभागी नभएपछि लामो समयसम्म बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

५ मध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ यसअघि नै अन्तार्वर्तामा सहभागी भए पनि अधिकारी, चापागाईं र कार्कीले प्रक्रिया बहिस्कार गर्दै आएका थिए ।

अन्तर्वार्तापछि ५ मध्ये दुई जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछन् । मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्ने व्यवस्था धितोपत्र बोर्ड ऐनमा छ ।

गत असार अन्तिम साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्नुको एउटा कारण बोर्ड अध्यक्षको नियुक्ति पनि भएको चर्चा चल्ने गरेको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओलीको दल एमाले प्रचण्ड सरकारमा सहभागी भएको थियो । ओलीले आफूले भनेका व्यक्ति बोर्डको अध्यक्ष नियुक्त गर्न प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन अनन्तलाई दबाब दिएका थिए ।

माओवादी केन्द्रका नेताहरुले बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको चलखेल भएको आरोप लगाउँदै आएका छन् ।

रमेश हमाल गत पुस २० मा कार्यकाल सकाएर बिदा भएपछि बोर्ड अध्यक्षविहीन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us