काठमाण्डु, ७ मंसिर- काठमाण्डू महानगरपालिकाले सडकमा फोहोर गरेकामा एमालेलाई एक लाख जरिवाना गरेको छ ।
दरबारमार्गमा जागरणसभा गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो ।
दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन-२०६८ र काठमाण्डू महानगरपालिकाको आर्थिक ऐन-२०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले एमाले मुख्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।
एमालेको काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार शक्ति प्रदर्शनसहित जागरण सभा गरेको थियो ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिकालाई एक लाख जरिवाना रकम तिर्नुपर्नेछ ।