काठमाण्डु, ७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको जानकारी दिएका छन ।
आज (शुक्रबार) चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको पनि बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन् ।’
उनले देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’
अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने पनि उनले बताए । कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न उनले निर्देशन समेत दिएका छन ।