घुमेर आऊँ भनेर चीन जान लागेको होइन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन ।

आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताएका छन ।

उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ १७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे ।

उनले अगाडि भने, ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ ।

त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us