काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको दाबी गरेका छन ।
साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताएका छन । प्रधानमन्त्री ओली भने, ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन ।
कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार बनेको होइन । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘ धेरै मान्छेहरूले धेरै प्रकारका हल्ला चलाएका छन् ।
तर एमाले कागले कान लग्यो भन्दैमा कागका पछि लागेर कुद्ने पार्टी होइन’ । उनले लडेर ल्याएको यो व्यवस्था र तदनुकुल व्यवस्थाको रक्षा गर्दै देश र जनताको भलाइका लागि काम गर्ने दाबी गरे ।
केही मानिसहरूले झुटको खेती गरेपछि सबै समाज त्यस्तै भयो भनेर सोच्न सक्ने भन्दै ओलीले जनता गोरवपूर्ण इतिहास र परम्परा अनुसार चल्ने भएकाले जनता कुहिरोको काग बनेर नकुद्ने बताए ।
उनले वर्तमान सरकार र समीकरण ८४ सम्मै टिक्ने दाबी समेत गरेका छन । फागुनको कुरा होइन ८४ साल मंसिरको चुनावसम्म अहिलेको यो समीकरण रहन्छ’, प्रधानमन्त्रीले भने, ‘कान खोलेर सुने हुन्छ ।
०८३ असारसम्म म प्रधानमन्त्री हुन्छु र शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ । कुनै भ्रम नराखे हुन्छ । यस्ता भ्रममा नपर्नुस् र पर्न नदिनुस् ।’