शंकर पोखरेलको तर्कः मोदीले सडकमा गएर भाषण गर्न मिल्ने, ओलीले किन नमिल्ने ?

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक-  एमालेले सरकारमा बसेर शक्ति प्रदर्शन गरेको भन्ने टिप्पणीप्रति आपत्ति जनाएको छ ।

शुक्रबार दरबारमार्गमा आयोजित ‘जनजागरण सभा’ मा महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनतामा जाने विषयलाई अन्यथा मान्न नहुने तर्क गरे ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने भन्दै आफूहरूले पनि त्यही गरेको जिकिर उनको थियो ।

महासचिव पोखरेलले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न सभामा पुगेर सम्बोधन गर्ने गरेको तर्क गरे ।

‘लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने गर्छन् । टाढा जानै पर्दैन, हाम्रो छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिनदिनै विभिन्न राज्यको दौडाहामा जनताको बीचमा भाषण गरिरहेका समाचार सुनिरहनुहुन्छ,’ महासचिव पोखरेलले भने, ‘लोकतन्त्रमा प्रधानमन्त्रीले भाषण गर्न हुन्छ कि हुँदैन ? लोकतन्त्रमा प्रधानमन्त्रीको पार्टीले सभा र र्‍याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेका नेताहरू यस प्रकारको टिप्पणी नगरे हुन्थ्यो ।’

एमाले जनताको पार्टी भएको उल्लेख गर्दै उनले जनताका बीचमै गएर षड्यन्त्र चिर्ने पनि बताए ।

‘जनताको पार्टी हो, जनताका बीचमा गएरै षड्यन्त्र र भ्रमलाई चिर्छ। राष्ट्रका पक्षमा उभिन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले जनताको पार्टी भएकाले जनताको बीचमा जाने फैसला गरेको हो । यो कुनै सरकारको कार्यक्रम होइन ।  पार्टी सधैँ जनताको बीचमा छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us