काठमाण्डु, ७ मंसिर– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ ।
कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने कांग्रेसले जनाएको छ ।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भने यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने जानकारी दिएका छन ।
उनले भने, ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो , ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन ।
त्यसलाई कार्यान्वयन गर्नुपर्यो ।’ डा. महतले अगाडि भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ रु अहिले फेरि ऋणको भार पनि बढिरहेको छ । त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न ।’
चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने बताएका छन । उनले भने, ‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तुहरु एउटा प्लटमा जान खोजेको हो कि या के हो ?
भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो, ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो ।’