बीआरआईसँग जोडेर काँग्रेसलाई शंकर पोखरेलको प्रश्नः के छिमेकीबाट ऋण दिनु गलत हो ?

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले चीनबाट ऋण लिन सकिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शुक्रबार उनले छिमेकीबाट ऋण लिनु हुँदैन भन्ने गलत भएको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी ओली आगामी १७ देखि २० मंसिरसम्म चीन भ्रमणमा जाँदैछन् ।

त्यस क्रममा ओली ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका परियोजानामा हस्ताक्षर गर्ने तयारीमा छन् । तर, प्रमुख सत्तारुढ घटक काँग्रेसले ओलीलाई त्यसो नगर्न बदाब दिँदै आएको छ ।

ऋणमा नभई अनुदानमा मात्र बीआरआई परियोजना अघि बढाउन सकिने काँग्रेसको अडान छ ।

पोखरेलले काँग्रेसतर्फ संकेत गर्दै प्रश्न गरेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?’

पोखरेलले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकमा बदल्न उत्तरी छिमेकी चीनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत नभएको उल्लेख गरेका छन् ।

काम गर्नेलाई हौसला दिन, कमजोरी भए सुझाव दिन, विकल्प भए विकल्प दिन भन्दै उनले अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न अपिल गेरका छन् ।

‘काम गर्नेलाई हौसला देऊ । कमी कमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं’, पोखरेलले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us