कुलमान हटाउने उपाय खोज्दै ओली, पूर्वन्यायाधिशको नेतृत्वमा छानबिन समिति गठन

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्न समिति गठन गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अनियमितता छानबिन गर्ने भन्दै उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समितिमा एक प्राविधिक र एक चार्टड एकाउन्टेन रहने जानकारी दिए ।

डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउने विषयमा प्रधानमन्त्री ओली र कार्यकारी निर्देशक घिसिङबीच विवाद भएको थियो । घिसिङले गत ८ कात्तिकमा कब्यौता नतिर्ने तीन दर्जन बढी उद्योगको लाइन काटेपछि ओलीले उनलाई खर्बास्त गर्न खोजेका थिए ।

तर, व्यापक जनविरोध र सत्तारुढ काँग्रेसको असहमतिका कारण ओली पछि हटे । ओली जसरी पनि घिसिङलाई पदमुक्त गराउन चाहन्छन् ।

मन्त्रिपरिषद् श्रोतका अनुसार कुनै कैफियत औंल्याएर घिसिङमाथि कारबाही सिफारिस गराउने तयारीअन्तर्गत ओलीले समिति गठन गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us