एमाले, दुर्गा प्रसाईं र सहकारी पीडितको प्रदर्शनले काठमाण्डुको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने अनुमान

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– सरकार नेतृत्वकर्ता एमाले, मेडिकल व्यवसायी दुई प्रसाईंका समर्थक र सहकारी पीडितले एकै दिन राजधानीमा आज प्रदर्शन गर्दैछन् ।

सरकार नेतृत्वकर्ता एमालेले काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी र सरकारविरोधीहरुले पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रष्टाचारसहित विभिन्न आरोप लगाउने क्रम बढेको भन्दै एमालेले आफ्नो पक्षमा जनमत रहेको देखाउन कार्यकर्ता उतार्न लागेको हो ।

शक्ति प्रदर्शनसहित हुने ‘जागरण सभा’ लाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । दरबारमार्गमा सभा हुनुअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ ।
अराजकताविरुद्ध भन्दै गर्न लागिएको सभामा एक लाख कार्यकर्ता उतार्ने दाबी एमालेको छ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले राजधानीमा प्रदर्शन गर्दैछन् ।

सरकारले प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनीहरुले कोटेश्वरमा प्रदर्शन गर्न लागेका हुन् । युट्युबर भेला पारेर प्रधानमन्त्री केपी ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएपछि प्रसाईंलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । हाल उनी प्रहरी हिरासतमा छन् ।

यस्तै सहकारी ठगीमा परेका पीडितहरुले माइतीघरमा प्रदर्शन गर्ने भएका छन् । ठगीमा संलग्नमाथि कारबाही र रकम फिर्ताको माग राखेर उनीहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

तीन स्थानमा हुने प्रदर्शनका कारण काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने अनुमान गरिएको छ ।

यद्यपि स्थानीय प्रशासनले भने सर्वसाधारणको आवत जावत प्रभावित नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको छ ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यातायात अवरुद्ध नुहने गरी ट्राफिक व्यवस्थापन मिलाइएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us