काठमाण्डु,२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भेट्न समय नदिएको भन्दै गुनासो गरेका छन ।
आज (आइतबा) रास्वपा मुख्यालय घण्टिघरमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्री ओलीले समय नदिएको भन्दै गुनासो व्यक्त गरेका हुन ।
कार्यबाहक प्रवक्ता झाले भने, ‘५ दिन प्रयास गर्यौं, कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, ५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो ।’
प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाले बताए । ‘हामी आउँछौं भन्ने कुराको खिसिट्युरी गर्नुभयो, तर समय दिनुभएन’, उनले भने ।
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त आधार र कारण हुँदाहुँदै हिरासतभित्र राखिनु राजनीतिक प्रतिशोध भएको उनले बताए ।
रास्वपाले आफ्ना सभापति लामिछानेको पक्राउ, सरकारको कामकारबाही, मुलुकको अर्थतन्त्रलगायतका विषय उठाएर ८ मंसिरदेखि आन्दोलन घोषणा गरेको छ ।