काठमाण्डू, १ साउन– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ दसैँपछि विदेशी सेना नेपालमा उत्रिने दाबी गरेका छन् । आज (शुक्रबार) काठमाण्डूमा पत्रकारहरूसँगको अन्तरक्रियामा विदेशी सेना उत्रिने उनले बताएका हुन ।
उनले भने, ‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। अनि त्यतिखेर त्यसपछाडि परिस्थिति हेर्नुहोला ।
त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने ?’ सहकारी र लघुवित्तको ऋणको बोझका कारण सर्वसाधारणले भोगिरहेका समस्याबाट मुक्त गराउनको लागि आफूले अभियान चलाएको दाबी समेत उनले गरेका छन । झापामा तीन युवतीले आत्महत्या गरेको घटनाको उल्लेख गर्दै उनले आर्थिक अभाव र ऋणको दबाबले नागरिकहरू चरम निराशामा पुगेको बताएका छन ।
उनले सहकारी र लघुवित्त पीडितको समस्या समाधानमा राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए। जनताको आवाज उठाउँदा आफूलाई पटक पटक सरकारले पक्राउ गरेको बताएका छन ।