पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १५:२८ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ । ढुङ्गानाको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो र उनको उपचारको क्रममा आज (आइतबार) दिउँसो २ बजे निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन ।

अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् ।

०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे । ०४८ सालमा काठमाण्डुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने ।

०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए ।

सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता रहेका बेला उनलाई माओवादी बनेको आरोप लागेको थियो । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us