दाङ, ४ कात्तिक- अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले प्यूठान नगरपालिकाका पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ गरेको छ ।
नमस्ते यातायात प्रालिका अध्यक्षसमेत रहेका पूर्ववडाअध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सन्तोष दसौंदी, प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये सन्तोष दसौँदी जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी हुन् ।
प्युठान प्रहरीले माण्डबी जिल्लाको माण्डबी गाउँपालिकाको देवीस्थल भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरी दाङ प्रहरीको जिम्मा लगाएको हो ।
उनीहरुमाथि बबई गाउँपालिका-६ दाङका ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई अपहरण गरी प्युठान पुर्याएको आरोप छ ।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दसौँदी दशैंका लागि घर बिदामा प्यूठान गएका थिए ।
प्रहरीका अनुसार लेनदेन विवादमा सो समूहले बुढाथोकी र पोखरेललाई अपहरण गरेको हो । अपहृत दुई जनालाई प्रहरीले उद्धार गरेको छ ।