पोखरामा दुई पक्षीय प्रदर्शन: संयमता अपनाउन कास्कीका सीडीओको अपिल
काठमाण्डु टुडे
२०८१ कार्तिक ४ गते १३:१० मा प्रकाशित
काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले संयमता अपनाउन आग्रह गरेका छन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन । पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अदालत नजिकै दुई पक्ष (रवि पक्षधर र सहकारी पीडित पक्षधर) भेला हुन थालिसकेका छन ।
रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम जारी छ । यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ ।
राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ ।