काठमाण्डु, ४ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
उनीहरुबीच आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै गरे । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा राखे ।
उनलर् नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा स्पष्ट रहेको बताएका थिए ।
चिनियाँ नेता छेन्ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।
यसअघि छेन्ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।