
काठमाडौँ, २ कात्तिक :
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बनस्थलीस्थित पार्टी कार्यालयबाट शुक्रबार प्रहरी टोलीले रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस
काठमाण्डु, ४ कात्तिक– सहकारी ठगी र संगठित अपराध आरोपको छानबिनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
कास्की प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा प्रस्तुत गर्न लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी राति नै पोखरा लगेको थियो ।
शनिबार सार्वजनिक बिदाका कारण अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आज मात्र अदालतमा उपस्थित गराउन लागेको हो ।
कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराध कसुरमा अनसुन्धानका लागि लामिछानेलाई पक्रन शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले म्याद थप गरेपछि लामिछानेसँग बयान लिएर अनुसन्धान अघि बढाइने कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
प्रहरीले छानबिन प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्छ । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै राखेर मुद्ध लड्न दिने भन्ने विषयमा थुनछेक बहस हुनेछ ।
पुर्पक्षका लागि थुनामा पठाइएको अवस्थामा मात्र लामिछानेको सांसद पद निलम्बनमा पर्नेछ ।