रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान सुरु गरीएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिइएको हो ।

रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिएका छन ।

अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको उनले जानकारी दिएका छन । रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ ।

फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गा उँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिएका छन । उनका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ ।

यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ । कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us