रविलाई सक्न पाए रास्वपा सिध्याउन सक्ने कांग्रेस एमालेको दिवास्वप्न छ: उपसभापति अर्याल

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागी परेको आरोप लगाएका छन ।

लामिछाने पक्राउको विरोधमा पोखरामा आज शनिबार भएको सडक प्रदर्शनमा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको बताए । उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह समेत गरेका छन ।

उनले आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको पनि बताएका छन । उनले दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरेका छन ।

उनले कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दलहरूलाई महँगो पर्ने पनि बताएका छन । उनले सहकारी पीडितहरूको बचत फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने पनि बताएका छन ।

उनले संसदीय समितिको प्रतिवेदन आएको ३ महिनासम्म पनि सरकारले कुन बैठकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ भन्दै प्रश्न समेत गरेका छन ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई हिजो शुक्रबार रास्वपाको मुख्यालय बनस्थलीबाट पक्राउ गरी पोखरा लगेपछि रास्वपाका नेताहरू पोखरा केन्द्रित भई विरोधका कार्यक्रमहरू सुरु गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us