हिजो सरकार नाङ्गियो, गगन थापा नाङ्गिए: मनिष झा

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– रास्वपा सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको दाबी गरेका छन । यस्तै उनले कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको बताएका छन ।

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै रास्वपा प्रवक्ता समेत रहेका उनले यस्तो बताएका हुन । उनले भने, ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’

संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको बताउँदै त्यसमा जीवी राईले ६ अर्ब रुपैयाँ लिएको र गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाएको र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको आरोप लगाएको बताए । रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको उनको दाबी छ ।

उनले भने– ‘म सहकारी पीडित साथीहरूलाई पनि भन्न चाहन्छु, यिनीहरूको सहकारी समस्या समाधान गर्ने उद्देश्य भएको भए ८७ अर्बको चर्चा गर्थे ।

तर यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन्, यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध र कुण्ठा हो । कसैको भविष्य र अवसर सुनिश्चित गर्ने, केपी शर्मा ओलीको कुण्ठाको कारण हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us