रवि लामिछानेलाई पक्राउ गरेकामा सिके राउतद्वारा सरकारको निन्दा

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

राउतले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संसदमा २१ सिट भएको नयाँ दलका सभापतिको पक्राउ प्रकरणलाई प्रतिशोध र निषेधको राजनीतिको संज्ञा दिए ।

राउतले लामिछाने पक्राउ प्रकरणले सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको तथा भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएके रुपमा अथ्र्याएका छन् । उनको पक्राउ राज्यद्वारा गरिएको ‘फ्रेमिङ’ गरिएको राउतको भनाइ छ ।

‘२१ सीट भएको नयाँ राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन’, राउतले भनेका छन्, ‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो । भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो ।’

रास्वपासँग आफ्नो पार्टीको धरातल र कतिपय एजेण्डामा विपरीत धारमा पनि उभिँदाउभिँदै पनि लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा दुवै पार्टीको मतैक्यता रहेको उनको भनाइ छ ।

राउतले लामिछाने यसबाट सफलतापूर्वक निस्किने विश्वासको राउतले व्यक्त गरेका छन् । आफू पनि पछिल्लो दशकमा सरकारद्वारा ऐन-कानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको र दर्जनभन्दा बढीपटक हिरासत र जेल गएको स्मरण राउतले गरे ।

राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको अवस्थामा जस्तोसुकै निर्दोषलाई समातेर २५ देखि ५० दिन अनुसन्धानका नाममा हिरासतमा राखिदिन सक्ने र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु नपर्ने ऐन कानून देशमा रहेको राउतले बताए ।

राज्य चलाउने, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले ऐनकानूनको दुरूपयोग पटकपटक गर्दै आएको राउतले उल्लेख गरेका छन् ।

उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक असुली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएकको राउतको भनाइ छ । तर निमुखा, गरिब आममानिसको हत्या हुँदासमेत प्रहरीले ऊजुरी दर्ता गर्न नमान्ने अवस्था रहेको पनि उनले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सहकारीको बचत अपचलन र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रास्वपा कार्यालय बनस्थलीबाट पक्राउ गरी राति नै पोखरा लगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us