रास्वपाले भन्योः गिरिबन्धु, भुटानी, टेरामक्स र वाइडबडीमा अर्बौं घोटाला गर्नेहरुसंग तर्सिन्नौं

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते २२:२५ मा प्रकाशित

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्दैमा नडराउने टिप्पणी गरेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाले शुक्रबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।

संसदीय छानबिन समितिले सहकारीमा संलग्न नरहेको पुष्टि गर्दा पनि सोही आरोपमा पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठम्याई रास्वपाको छ ।

तथापि विधिको शासनलाई सम्मान गर्दै रास्वपा राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको प्रतिबद्धता झाले जनाए । तर, कानूनी छिद्रमा टेकेर रास्वपा र सभापति लामिछानेमाथि सांधिने राजनीतिक प्रतिशोध कदापि स्वीकार्य नरहेको उनको भनाइ छ ।

बिना कारण र आधार लामिछानेलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको आरोप उनले लगाए ।

रास्वपाले सभापति लामिछानेको पक्राउलाई गिरिबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडीजस्तो अर्बौंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउंदै आएका दलहरुले नयां राजनीतिक अभियानमाथिको आक्रमणको संज्ञा दिएको छ ।

लामिछानेको पक्राउले आफूहरु नडराउने र नतर्सिने बरु परिवर्तनको लडाईं थप बुलन्द भएको दाबी रास्वपाको छ ।

रास्वपाले देशमा परिवर्तन चाहने सम्पूर्ण नेपाली जनतालाई दशकौंदेखि हुंदै आएको राजनीतिक जालझेलविरुद्ध उभिन अपिलसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us