प्रहरीद्वारा रवि लामिछाने पक्राउबारे सभामुखलाई जानकारी

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते २०:५८ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– प्रहरीले सभामुख देवराज घिमिरेलाई सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद् रवि लामिछानेलाई पक्राउ गरिएको विषयमा जानकारी दिएको छ ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले शुक्रबार पत्र लेख्दै सभामुख घिमिरेलाई त्यसबारे जानकारी दिएका छन् ।

‘सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन–२ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान–२०७२ को धारा १०३ को उपधारा (६) बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, पत्रमा भनिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको थियो ।

त्यसलगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुलाई पत्राचार गर्दै पक्राउ गरी पोखरा पठाइदिन पत्राचार गरेको थियो ।

कास्की प्रहरीको पत्र प्राप्त भएलगत्तै ती तीनवटै कार्यालयका प्रहरी लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय बनस्थली पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us