दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना, १४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते ७:३६ मा प्रकाशित

विराटनगर, २ कात्तिक- दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैंको अवधिमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  थियो भने १६ जना घाइते भएका थिए ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको  थियो भने सात जना घाइते भएका थिए । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैंका बेलामा ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us