बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या आएको छ ।

विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन ।

अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिएका छन । उनले भने, ‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ, आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।’

बुद्ध एयरद्वारा जारी गरीएको सूचनामा भनिएको छ, ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन् ।’

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ ।

काठमाण्डुबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताएका छन । हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us