श्रीमतीलाई १५ हजार भारुमा बेच्ने श्रीमान २४ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– सुर्खेत प्रहरीले आफ्नै श्रीमतीलाई १५ हजार भारुमा बोच्न श्रीमानलाई २४ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका भक्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले बुधबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन ।

भक्तबहादुरविरूद्ध जाहेरी आएको घटना भने २४ वर्षअघिको हो । २०५७ साल मंसिर १३ गते उनले श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो ।

घरमै लुकिछिपी बसेका उनलाई पक्राउ गरी घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us