माइक्रो बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २८ गते १६:३५ मा प्रकाशित

तनहुँ, २८ असोज- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोको ठक्करबाट प्रहरी हवलदारको मृत्यु भएको छ ।

सोमबार बिहान माइक्रोले ठक्कर दिँदा गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us