‘फिफाले मेसीलाई विश्वकप दिलाउन खोजेको’ पोस्टमा रोनाल्डोले लाइक गरेपछि हंगामा

काठमाण्डु टुडे २०८३ साउन ६ गते १२:१३ मा प्रकाशित

काठमाण्डू, ६ साउन– पोर्चगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले फिफामाथि गम्भीर आरोप लगाइएको एउटा इन्स्टाग्राम पोस्टमा ‘लाइक’ गरेपछि यति बेला हंगामा मच्चिएको छ । उनका प्रतिस्पर्धी फुटबलर लियोनल मेसीका फ्यानहरु रोनाल्डोप्रति आक्रोशित बनेका छन् ।

उक्त इन्स्टाग्राम पोस्टमा फिफामा व्यापक भ्रष्टाचार भएको र अधिकारीहरूले २०२६ को विश्वकप लियोनल मेसीलाई सुम्पने प्रयास गरेको आरोप लगाइएको थियो ।

अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित हुनुभन्दा ठीक अगाडि यो घटना सार्वजनिक भएको हो । यो प्रतियोगिताभरि नै रेफ्रीका निर्णयहरूलाई लिएर निकै विवाद उत्पन्न भएको थियो । रोनाल्डोको भेरिफाइड इन्स्टाग्राम अकाउन्टले एउटा भिडियो पोस्ट लाइक गरेको देखिएको छ, जसमा अर्जेन्टिनालाई २०२६ को विश्वकप फाइनलमा पुर्‍याउन फिफाले भ्रष्टाचार गरेको आरोप लगाइएको थियो ।

लियोनल स्कालोनीको टोली स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएलगत्तै यस ‘लाइक’ ले मानिसहरूको ध्यान तान्यो । उक्त पोस्टमा स्पेनी पत्रकार पिलार रोड्रिग्वेज लोसान्टोसले उत्तर अमेरिकामा भएको यस प्रतियोगिताभरि अर्जेन्टिनालाई पक्षपातपूर्ण रूपमा फाइदा पुर्‍याइएको भन्दै कडा आलोचना गरेकी थिइन् ।

फाइनलअघि अपलोड गरिएको उक्त भिडियोमा लोसान्टोसले रेफ्रीका निर्णयहरूको तीव्र आलोचना गरेकी थिइन् । ‘एस्पेजो पब्लिक’ कार्यक्रममा बोल्दै लोसान्टोसले भनिन्, ‘अर्जेन्टिना त कम्तीमा पाँच खेलअघि नै प्रतियोगिताबाट बाहिरिनुपर्थ्यो ! उनीहरू फिफाको सहयोगले मात्र अहिलेसम्म टिकेका हुन्, जुन यस पृथ्वीकै सबैभन्दा भ्रष्ट संस्थाहरूमध्ये एक हो !’ उनले थप भनिन्, ‘त्यसैले म अर्जेन्टिनासँग अलिकति पनि डराउँदिन ।

मलाई जियानी इन्फान्टिनोसँग बढी डर लाग्छ । मेरो विचारमा हामी अर्जेन्टिनाविरुद्ध होइन, बरु पूरै फिफाविरुद्ध खेल्दैछौँ, जो लियोनल मेसीलाई विश्वकप सुम्पिन चाहन्छन् !’ राउन्ड अफ १६ मा इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक ३–२ को जितपछि रेफ्रीको पक्षपातपूर्ण व्यवहारको आरोप चरम सीमामा पुगेको थियो ।

उक्त खेलमा इजिप्टका मोस्ताफा जिकोको गोललाई भिएआरले बदर गरिदिएको थियो भने इजिप्टको पेनाल्टी अपिललाई पनि अस्वीकार गरिएको थियो । यस विवादको प्रतिक्रिया दिँदै इजिप्टियन फुटबल संघले फिफामा औपचारिक उजुरी दर्ता गरेको हफपोस्टले रिपोर्ट गरेको छ ।

उनीहरूले भनेका छन्, ‘इजिप्टको राष्ट्रिय टोलीको अधिकार र हितको रक्षा गर्नु बेवास्ता गर्न सकिने वा सामान्य मानिने विषय होइन। यो हाम्रो पूर्ण दृढता र जिम्मेवारी हो।’ यद्यपि, फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले पक्षपातको आरोपलाई अस्वीकार गरे भने अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले रेफ्रीहरूको प्रदर्शन उत्कृष्ट रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us