आज पनि टीका जमरा लगाउने क्रम जारी

काठमाण्डु टुडे २०८१ असोज २७ गते ९:०० मा प्रकाशित

काठमाण्डू, २७ असोज- आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ ।

विजयादशमीका दिन शनिबारबाट सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।

गाउँ शहरमा  टाढा रहेका मान्यजनको हातबाट टीका जमरा लगाउन हिंडेका मानिसहरुको बिहानैदेखि चहलपहल छ ।

आज उपवास बस्ने चलन पनि छ । आज एकादशी व्रत बस्नाले दुःख हरण शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

एकादशीमा ‘पद्मनाभ’ नाम गरेका लक्ष्मीनारायणको पूजा गर्नुपर्ने ग्रन्थमा उल्लेख गरिएको छ ।

एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दस पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ।

बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ। 

आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रहिआएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us