सौराहा घुम्न आएका पर्यटकले टीका र जमरा लगाएर मनाए दशैं

काठमाण्डु टुडे २०८१ असोज २६ गते १९:१३ मा प्रकाशित

चितवन, २६ असोज- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दशैं मनाएका छन् ।

नेपालीहरुको महान चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिए ।

साथै उनले पर्यटकको सेवाका लागि दशैंका दिन पनि होटल खुला राखेको बताए । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् ।

फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दशैंको टीका र जमरा लगाए ।

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए। ‘नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ’, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, ‘नेपालीहरुका साथमा दशैं मनाउन पाउँदा खुसी छु।’

नेदरल्याण्डस्देखि सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दशैं मनाउन पाउँदा औधी खुशी देखिन्थे । ‘मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाउन पाएँ’, उनले भने ।

अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिए । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, उनले भने ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । ‘हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दशैंमासगैँ राखेर मनाएका थियौँ’, होटल सञ्चालक गिरीले भने ।

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us