विजयादशमीका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा

काठमाण्डु टुडे २०८१ असोज २६ गते १३:४७ मा प्रकाशित

पोखरा, २६ असोज- विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन् ।

विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रूटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बसहरू शनिबार अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् ।

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।

यसैगरी लेखनाथ जनताको चौतारा–रूपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् ।

निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए ।

‘दसैंको टीका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ

। तसर्थ दसैंको दिन सार्वजनिक यातायात सहज रूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो,’ उनले भने ।

दसैं बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गरे ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए ।

‘जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौं। त्यसैको कडीका रूपमा निःशुल्क बस सञ्चालन गरेका हौं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us