विजया दशमीको शुभकामना दिँदै प्रचण्डले भनेः देशमा सरकार भएको अनुभूति गराइयोस्

काठमाण्डु टुडे २०८१ असोज २६ गते ७:११ मा प्रकाशित

काठमाण्डू, २६ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा स्थापित भएको बताएका छन् ।

विजया दशमीको अवसरमा शनिबार शुभकामना दिँदै उनले देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी रहेको बताए ।

मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक रहेकोमा उनले जोड दिए । त्यसो गर्दा हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्ने प्रचण्डको भनाइ थियो ।

दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन उनसे सबैमा अपिल गरे ।

दशैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त रहेको भन्दै प्रचण्डले जतिसुकै पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प नरहेको उल्लेख गरे ।

अविरल वर्षापछिको बाढीपहिरोबाट सयौँ नेपालीको ज्यान गएको, कैयन् मानिसहरू अहिले पनि बेपत्ता नै रहेको, अरबौंको भौतिक क्षति र जनसमुदायको जीवनमा अकल्पनीय पीडा थपिएको स्मरण उनले गरे ।

संकटको यस घडीमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकहरूका निम्ति पुनस्र्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनर्निर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत उनले सरकारको ध्यानाकर्षण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us