आज विजया दशमी, टीका कतिबेला लगाउने ?

काठमाण्डु टुडे २०८१ असोज २६ गते ६:१३ मा प्रकाशित

काठमाण्डू, २६ असोज- आज आश्विन शुक्ल दशमी अर्थात् बडा दशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गा देवीको प्रसादको रुपमा हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा एवम् मान्यजनबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउँने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ ।

सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले स्पस्ट गरेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

राम्रा पोशाकमा लगाएका र  निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेकाहरुको मान्यजनबाट टीका थाप्न आज विशेष चहलपहल देखिन्छ ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने दशैं   धार्मिक मात्र नभएर सामाजिक एवं सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिएको जनविश्वास रहिआएको छ ।

दशैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएका कारण यो वर्ष दशैंको रौनकता विगतका दशैंको तुलनामा कमै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us