पहिरो खसेपछि सिद्धिचरण राजमार्ग अवरुद्ध, दसैंमा घर हिंडेका यात्रु अलपत्र

काठमाण्डु टुडे २०८१ असोज २५ गते ९:५७ मा प्रकाशित

उदयपुर, २५ असोज- सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।

शुक्रबार बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए ।

‘गएराति  पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ,’ उनले भने, ‘स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौं।’

कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले जनाए ।

सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ ।

यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us