
sf7df8f}F, !* c;f]h -/f;;_ M a8f bz}Fsf] ;ftf}F lbg zlgaf/ uf]/vfb/jf/af6 NofOPsf] km”nkftL sf7df8f}Fsf] xg’dfg9f]sfdf leqofOFb} . t:jL/ M gjLg kf}8]n
काठमाण्डु, २४ असोज- बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ ।
घरको पूजाकोठा तथा दशैं घरमा आज नौ प्रकारका बोटविरुवा र फलफूल राख्ने गरिन्छ ।
उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पूजाकोठामा भित्र्याइन्छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको बताए ।
उनका अनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।
फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन् । जीवनपुरबाट
काठमाण्डुको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
त्यहाँबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टनसहित ब्याण्डबाजा र पञ्चैबाजा बजाएर सांस्कृतिक नाचगान गर्दै लावालस्करका साथमा फूलपाती हनुमानढोका भित्र्याइन्छ ।
फूलपातीका अवसरमा नेपाली सेनाले पनि सैनिक मञ्च टुँडिखेलमा बढाइँ गर्ने गरेको छ ।
बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनेछन् ।
इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न धेरै मानिस दशैं पर्व मनाउन काठमाण्डु उपत्यकाबाट घर फर्कन्छन् ।